मलंगवा, २८ साउन – गरिमा विकास बैंक लिमिटेड मलंगवा शाखाका मेनेजर रामएकवाल साहले ऋणीहरुको रकम ठगी गरेको पीडितले आरोप लगाएका छन् ।
हिजो सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा पत्रकार सम्मेलन गरी पीडितले यस्तो आरोप लगाएका हुन् । कौडेना गाउँपालिका ५ का फेकन राय यादवले आफ्नो जग्गाको ३० लाख रुपैयाँ मुल्यांकन गरी मलंगवा शाखाका मेनेजर साहले बैंकमै ४ वटा खाली चेकमा हस्ताक्षर गराइ सो चेक आफैसँग राखेर पटकपटक साहले सो चेकको प्रयोग गरी पहिलोपटक ९ लाख ९९ हजार र दोस्रोपटक पुनः ९ लाख ९९ हजार बिचौलिया कृष्ण कुमार यादवमार्फत निकालेको र सो को विवरण सम्बन्धि म्यासेज आफ्नो मोबाइलमा आएको पिडित रायले बताए ।
आफुले भने १ लाख २५ हजार रुपैयाँ मात्र झिकेको रायले बताए । त्यसबारे मेनेजर साहलाई जानकारी गराउँदा समेत वास्ता नगरेको रायले बताए ।
अर्का पीडित सीता विश्वकर्माले पनि मेनेजर साहले आफ्नो पैसा खाएको गुनासो गरिन् । उनले आफूले जग्गा धितो राखेर कृषि कार्यको लागि गरिमा बैंकसँग १६ लाख रुपैयाँ बिचौलिया कृष्ण कुमार यादवमार्फत ऋणको लागि आवेदन दिएको तर बैंकले ऋण स्वीकृत भए बापतको १६ लाख रुपैयाँ नदिएको तर पैसा खाताबाट झिकिएको मोबाइलमा म्यासेज मात्र आएको बताईन् ।
यस विषयमा गरिमा विकास बैंक मलंगवा शाखाका मेनेजर साह सँग बुझ्न खोज्दा उनको फोन उठेन । गरिमा विकास बैंकका मेनेजर साहले १३ जनालाई यसैगरी ऋण बोकाएर रकम जति आफ्नै खल्तिमा राखेको आरोप लागेको छ ।