बयलवास, २७ साउन – प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बयलवास सखुवनीबाट भन्सार छलेर ल्याइएको २०० बोरा चिनी बरामद गरेको छ ।
गएराति साँढे १ बजे दक्षिण बयलवासतर्फबाट पूर्व पश्चिम राजमार्गतर्फ आइरहेको प्रदेश ०३–००१ ख १६०० नम्वरको ट्रकबाट अवैध चिनी बरामद भएको हो । प्रहरीले जाँच गर्दा बिलबिजक नमिलेको पाइएपछि उक्त चिनीसहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शङ्कास्पद देखिएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
२०० बोरामा प्रति केजी जम्मा १० टन चिनी सात लाख रुपियाँ मूल्य कायम गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
प्रहरीले ट्रकका चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, फूलबारी टोल बस्ने ३७ वर्षीय झलक लिम्बुलाई समेत नियन्त्रणमा लिएको छ । चालकलाई पनि राजस्व कार्यालयकै जिम्मा लगाइएको बयलवास प्रहरीले जनाएको छ ।