logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको बरहथवा, बसबरिया क्षेत्रमा भारी वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बसबरिया, २७ साउन – सर्लाहीको दक्षिण–पश्चिम भेगमा गएराति भारी वर्षा भएको छ ।

बरहथवा, बसबरिया, धनकौललगायत आसपासका क्षेत्रमा राति ९ बजेको आसपास भीषण वर्षा भएको हो । बरहथवा नगरपालिका अन्तर्गत पर्ने मनुष्मारास्थित सशस्त्र प्रहरीको बेस क्याम्पभित्र रहेको जलमापन केन्द्रमा भएको मापन अनुसार त्यहाँ राति ७८.६ मिलिमिटर वर्षा भएको छ ।

ठूलो पानी पर्दा केही घरहरुमा पानी पसेर क्षति गरेको स्थानीयले बताएका छन् । पानीले निकास नपाउँदा बसबरिया गाउँपालिका ४ धनगढामा आफूसहित छिमेकका घरभित्र पानी पसेको स्थानीय वुद्धिनाथ साहले जानकारी दिए ।

राति परेको ठूलो पानीले डुबानमा परेका घरहरुको अवस्था आज भने सामान्य छ । इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले ठूलो पानी परेपनि कहीँकतैबाट क्षति भएको भनी जानकारी नआएको बताए ।

राति मनुष्मारा आसपासमा ठूलो पानी पर्दा जिल्लाको अन्य भेगमा भने वर्षा हुन सकेन । अहिले प्रायः खण्डवृष्टि धेरै हुने गरेको छ ।

नजिकै एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने अर्थात् खण्डवृष्टि हुने भइरहेको हो । यो वर्ष अहिलेसम्म वर्षाले साथ दिँदा जिल्लामा धान बाली राम्रोसँग हुर्किरहेको भन्दै किसान खुसी रहेका छन् ।

यसैबिच मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।