नवलपुर, २६ साउन – सर्लाहीमा आज नेपाल विद्युत् प्राधिकरणको तीनवटै वितरण केन्द्रले बिजुली बत्ती अवरुद्ध गरेर मर्मतको काम गर्दै छन् ।
आज शनिबार कार्यालयहरु बन्द रहने दिन पारेर लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रले टुटफुट भएको पिन डिक्स बदली र नाङ्गो तारमा छुएका तथा छुन लागेका रुखका हाँगाबिङगा काट्न लागेको हो ।
लालबन्दी वितरण केन्द्रले आफ्नो वितरण केन्द्र अन्तर्गतका ११ केभी लाइनमा पर्ने नवलपुर, लालबन्दी, रानिगन्ज, परवानीपुर र घारिबथान लगायत सम्पूर्ण स्थानहरुमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म लाइन अवरुद्ध हुने जनाएको छ ।
यस्तै बरहथवा वितरण केन्द्रले पनि ३३ केभी प्रशारण लाइनमा मर्मतको काम गर्न बरहथवा, हीरापुर र सोल्टी फिडरबाट संचालित लाइन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म अवरुद्ध रहने उल्लेख गरेको छ ।
त्यस्तै मलंगवा वितरण केन्द्रले आज दिनभर नै बत्ती नछाड्ने भएको छ । ३३ केभी लाइनको नजिक रहेको रुखको हाँगाबिङ्गा काट्नुपर्ने र जरुरी मर्मतको काम गर्नुपर्ने भएकाले मलंगवाबाट आपूर्ति हुने सम्पूर्ण क्षेत्रको विद्युत् बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म अवरुद्ध हुने वितरण केन्द्रले सूचना जारी गरी जानकारी दिएको छ ।
चर्को गर्मीमा दिनभर बत्ती अवरुद्ध हुने भएपछि स्थानीय भने थप मारमा परेका छन् ।