logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बागमतीको कार्यवाहक नगरप्रमुखमा लामा


  • उज्यालो अभियान

कार्यवाहक मेयरको जिम्मेवारी पाएका वडाध्यक्ष कृष्णकुमार लामा ।

बागमती, २४ साउन – सर्लाहीको बागमती नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नं. ४ का वडाध्यक्ष कृष्णकुमार लामाले पाएका छन् ।

नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमार मुक्तानसहितलाई भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा परेपछि नगरसभाको बैठकले १२ वटा वडामध्ये ज्येष्ठताको आधारमा वडा नं. ४ का वडाध्यक्ष लामालाई कार्यवाहक नगरप्रमुख बनाउने निर्णय गरेको हो ।

नगरप्रमुख निलम्बनमा परेपछि नागरिकको कामकाज नै ठप्प भएको र नगरपालिका समेत सञ्चालन नहुने अवस्था आएपछि प्रदेश ऐनलाई टेकेर नगरसभाबाट सबैको सहमतीमा ज्येष्ठ वडाध्यक्ष लामालाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको बागमती नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर कार्कीले जानकारी दिए । नगरप्रमुख, उपप्रमुख निलम्बनमा परेपछि सङ्घीय मन्त्रिपरिषद्बाट केही निर्णय आउने भनी लामो समयसम्म कुरेर बसेपनि कुनै निर्णय नआएपछि नगरप्रमुख निलम्बनमा परेका अन्य पालिका जस्तै आफूहरुले पनि ज्येष्ठ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेर रोकिएका काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताए ।

बागमती ४ का वडाध्यक्ष लामाले आफ्नो वडासहित कार्यवाहक नगरप्रमुखको समेत सरसिफारिसमा हस्ताक्षर गरिरहेको उल्लेख गरेका छन् । नेकपा माओवादी केन्द्रको एकल बहुमत रहेको बागमतीमा लामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीबाटै निर्वाचित भएका थिए ।

बागमतीमा उपप्रमुख पनि निलम्बनमा परेपनि कार्यवाहक उपप्रमुख कसैलाई तोकिएको छ्रैन् । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरसभाबाट तत्कालका लागि कामचलाउका रुपमा नगरप्रमुख तोकिएको बताए ।

कामचलाउ नगरप्रमुखबाट सामान्य सरसिफारिसका काम भइरहे पनि आर्थिक गतिविधि गर्न नमिल्ने भएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको थप निर्णय पर्खेर बसिरहेको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।

नगरप्रमुख, उपप्रमुख नभएपछि बागमती नगरपालिकाले चालू आर्थिक वर्ष २०८१÷८२ को बजेट समेत ल्याउन नसकेको पुरीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती माछा पोखरी (भरत ताल) निर्माणकाक्रममा भ्रष्टाचार गरेको ठहर गर्दै नगरप्रमुख थापा, उपप्रमुख मुक्तान लगायतविरुद्ध भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कारवाही अघि बढाएको छ ।

याे पनि पढ्नाेस्

काे हाेला अब बागमतीकाे कार्यबाहक मेयर ?