logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मिटरब्याज सम्वन्धी उजुरी लिन ठाउँठाउँमा कार्यालय खोलिएकोमा ध्यानाकर्षण


  • उज्यालो अभियान

मलंगवा, २३ साउन – जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुचित लेनदेन अर्थात मिटरब्याज सम्वन्धी उजुरी निवेदन लिन ठाउँठाउँमा कार्यालय खोली तथा व्यक्तिगत तबरबाट समेत निवेदन लिने काम भइरहेकोप्रति आपत्ति जनाएको छ ।

उजुरीकर्तालाई प्रभाव तथा प्रलोभनमा पारेर अनुचित लेनदेन समेत भइरहेको भन्ने गुनासो आउन थालेको भन्दै सिडिओ कार्यालयले आज सूचना निकालेर गम्भीर आपत्ति जनाएको हो । त्यस्ता कार्य कानूनी रुपमा अवैध र दण्डनीय हुने भएकाले त्यस्तो कार्य गर्ने/गराउने गरेको पाइएमा सो को सूचना कार्यालयलाई उपलब्ध गराउनहुन र त्यसतर्फ सचेत एवं सजय रहन कार्यालयले आग्रह समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले यस्तो कानून विपरीत कार्यमा संलग्न संस्था तथा व्यक्तिलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । यसअघि जिल्ला जिल्ला प्रशासन कार्यालयले हेर्ने मिटरब्याजसम्वन्धि उजुरी पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा सारिएको थियो ।

अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगको पछिल्लो निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयबाट पुनः निवेदन दर्ता गर्ने कार्य सम्पन्न भई उक्त निवेदन अनलाईन इन्ट्री भई रहेको अवस्था रहेको र इन्ट्रीपश्चात अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोग तथा नेपाल सरकारको निर्देशन बमोजिम थप काम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।