logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा रातिदेखि नै वर्षा, गर्मीबाट आजित नागरिकलाई राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २२ साउन – सर्लाहीमा गएराति देखि नै वर्षा भइरहेको छ ।

जिल्लाको केही भेगमा भारी वर्षा समेत भएको छ । साउन लागेदेखि अत्यधिक गर्मी खेपिरहेका यहाँका स्थानीयले पानी परेर गर्मी घटेपछि राहत महशुस गरेका छन् ।

अहिले परेको पानीले धान बालीलाई निकै फाइदा पुगेको छ । सर्लाहीमा एका–दुई किसान बाहेक अधिकांश किसानले धान रोपिसकेका छन् । धेरै किसानलाई त अहिले धान गोड्मेल गर्ने र मलखाद गर्ने काममा चटारो छ ।

यो पानीले पाकिसकेको मकै बालीमा भने क्षति गरेको छ । चुरेभेगका बारीमा मकै पाकेर भाच्ने बेला भएको छ । पानी परेर पाकेको मकै बोटमै भिज्दा किसानलाई चिन्ता थपिएको छ ।

चुरेभेगमै पानी अब कोदो रोप्ने तयारी समेत भइरहेको छ । बिउ तयार भइसकेका किसानले अब यही चिसोमा धमाधम कोदो रोप्न थाल्छन ।

पानी जम्दा कतिपय ठाउँमा किसानले लगाएको तरकारी बालीमा नोक्सान पुगेको छ । पानी परेपछि उखु किसान भने खुसी छन् । वर्षा भएपछि सर्लाहीको ग्रामीण सडक पुनः हिलाम्मे र जलमग्न भएको छ ।

ग्रामीण सडकमा यो वर्ष बारम्बार पानी पर्दा क्षति गरिरहेको स्थानीयले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ ।

यस्तै पानी परेपछि सर्लाहीमा विद्युत अनियमित भइरहेको छ । भित्री ग्रामीण भेगमा रातिदेखि नै बत्ती नरहेको हाम्रा संवाददाताले जनाएका छन् ।

यसैबिच नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पिन, डिस्क बदली र रुखका हाँगाबिँगा काट्न आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती कट्ने भएको छ ।