लालबन्दी, २१ साउन – साउन महिनाको तेस्रो सोमबार आज पनि सर्लाहीका शिव मन्दिरमा भक्तजनको भिड लागिरहेको छ ।
जिल्लाभरका शिव मन्दिरमा पूजाअर्चना गर्न पुग्ने दर्शनार्थीको चहलपहल देखिएको हो । यहाँको लालबन्दीस्थित अक्लेश्वर महादेव मन्दिर डुमडुमे र जलकेश्वर महादेव मन्दिर पत्थरकोट, हरिवनस्थित सुखेपोखरी महादेव मन्दिर र कैलाशपुरी महादेव मन्दिर, ईश्वरपुरस्थित सागरनाथ महादेव मन्दिर, बरहथवास्थित मुक्तेश्वर बाबाधाम मूर्तिया, हरिपुरस्थित चिताईन मन्दिरसहित प्रत्येक गाउँ टोलका शिव मन्दिरमा भक्तजनको भिड रहेको हाम्रा संवाददाताले जनाएका छन् ।
साउन महिनाभर प्रत्येक शिव मन्दिरमा दर्शनार्थीको भीड लाग्छ । यहाँका सडकमा बोलबमका भक्तजनको चाप समेत दिनानुदिन बढ्दो छ । बोलबमयात्री सर्लाहीको विभिन्न भित्री सडक तथा पूर्व–पश्चिम राजमार्ग भएर महोत्तरीको टुटेश्वरनाथलगायतका प्रख्यात शिव मन्दिरसम्म पुग्ने गरेका छन् । ठूलो सङ्ख्यामा भारतीय बोलबम तिर्थयात्रीले समेत यहाँका सडक प्रयोग गरेर हिँड्ने गरेका छन् ।
कर्मैयास्थित बागमती नदीमा जल उठाउनका लागि नेपाली तथा भारतीय बोलबमयात्री धेरै नै आइरहेका छन् । २४ सैँ घण्टा ब्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा समेत रातभर बोलबम यात्री पैदल हिँडेर गन्तव्यतर्फ गइरहेका हुन्छन् ।
यहाँको लालबन्दी, बयलवास, हरिवन, मलङ्गवा, बरहथवा, नवलपुरलगायतका बजारमा चुरा, पोते, मेहेन्दीलगायत श्रृङ्गारका सामग्रीको व्यापार राम्रो भइरहेको व्यापारीले बताएका छन् ।