लालबन्दी, १७ साउन – दुई रातको भारी वर्षापछि फूलजोर खोलामा आएको बाढीले लालबन्दी र ईश्वरपुर नगरपालिकालाई जोड्ने पुलमा पुनः क्षति गरेको छ ।
मंगलबार र बुधबार राति परेको ठूलो पानीले खोलामा बाढी आउँदा लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पक्की पुलमा क्षति पुर्याएको हो । खोलामा ठूलो बाढी आएर रामपुरतर्फको भागमा सडक कटान गर्दा पुल नै जोखिममा परेको लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।
असारमा भारी वर्षापछि आएको बाढीले पुलको दुवैतर्फको सडक बगाएको थियो । त्यसपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले दुवैतर्फ तत्कालका लागि बोरामा बालुवा भरेर अस्थायी तटबन्ध कस्ने काम गरेपनि दुई रातको पानीले ठूलो बाढी आउँदा फेरि पुलमा पहिलेकै जस्तो अवस्था पारेको वडाध्यक्ष चौधरीले बताए ।
बाढीले पुलसँगै जोडिएको सडकमा बाटो बगाएर भ्वाङ पार्दा चार पांग्रे सवारी ओहोरदोहोर गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । ठेकेदारले हस्तान्तरण गर्न बाँकी नै रहेको फूलजोर खोलाको यो पुलमा प्रत्येक पटक बाढी आउँदैपिच्छे क्षति गरिरहेको छ ।
पुलको दायाँबायाँ दुवैतर्फको सडक समेत कालोपत्रे गर्ने गरी ठेक्का लागेकोमा पुलको काम सकेपछि ठेकेदार नै सम्पर्कमा आएका छैनन् ।