logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मृतक र बेपत्ता युवकको परिवारलाई गाउँपालिकाद्वारा एक/एक लाख सहयोग


  • उज्यालो अभियान

रामनगर, १५ साउन – सिमलताल दुर्घटनामा मृत्यु भएका र बेपत्ता रहेका दुई युवकको परिवारलाई सर्लाहीको रामनगर गाउँपालिकाले एक/एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२८, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । उक्त दुर्घटनामा परेर मृत्यु भएका रामनगर गाउँपालिका–३, बोहर्बाका जितेन्द्र राम र बेपत्ता रहेका सोही ठाउँ निवासी रामा दासको परिवारलाई गाउँपालिकाले आज जनही एक लाख रुपियाँ प्रदान गरेको हो ।

जितेन्द्रका बुबा मन्सिप राम र रामाका बुबा नागेन्द्र दासलाई नगद प्रदान गरिएको रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष यादव र वडाध्यक्ष अजय यादवले दुवै युवकको घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा परेर छोरा गुमाएका दुवै परिवारको आर्थिक अवस्था दयनीय रहेकाले गाउँपालिकाले सहयोग प्रदान गरेको गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।

नदीमा बस खसेपछि दुई साता भन्दा बढी समयदेखि बेपत्ता रामा दासको परिवारले शव फेला नपरेपनि परम्परा अनुसार दाहसंस्कार गरेका छन् ।

जितेन्द्र र रामा वैदेशिक रोजगारीका लागि काठमाडौँमा स्वास्थ्य परीक्षण गरेर गौर आउने बस चढेर घर फर्कदै गर्दा दुर्घटनामा परेका परिवारले जनाएको छ ।