logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

‘लोड’ थेग्न नसक्दा बिजुली अनियमित


  • उज्यालो अभियान

मलंगवा, १४ साउन – चर्को गर्मीमा अत्यधिक ‘लोड’ बढेर बिजुली अनियमित हुँदा सर्लाहीका स्थानीय मारमा परेका छन् ।

केही दिनदेखि दिनभर एकटङ्कारले टन्टलापुर घाम लागेर अत्यधिक गर्मी भई जनजीवन अस्तव्यस्त भइरहेका बेला जिल्लाभर विद्युत् अनियमित बनेको हो । पङ्खा नचलाए बस्नै नसक्ने गरी हपक्क गर्मी भइरहेका बेला छिनछिनमै बत्ती काटिने समस्याले सर्वसाधारण मारमा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलङ्गवा र बरहथवा गरी जिल्लाका तीनवटै वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा यस्तो समस्या देखिएको छ । अनियमित विद्युत् कटौतिले विद्यालय, अस्पताल, विभिन्न सरकारी कार्यालयलगायत अतिआवश्यक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् ।

गर्मीले असिनपसिन भएर बस्न बाध्य सर्वसाधारण बत्ती कट्ने बित्तिकै आत्तिने गरेका छन् । विद्युत् अनियमित हुँदा बिजुलीबाट हुने काम प्रभावित बनिरहेको छ ।

कार्यालय तथा कलकारखानाका काम प्रभावित भएका छन् । मलङ्गवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा पर्ने ब्रह्मपुरी, पर्सा, चन्द्रनगर, हरिपूर्वा, कौडेना, विष्णु, गोडैतालगायतका पालिकामा विद्युत् अनियमितसँगै भोल्टेज नआउने समस्या धेरै छ ।

शुक्रबारदेखि नवलपुरस्थित विद्युत् सवस्टेशनको मुख्य ट्रान्सफर्मरको ब्रेकरमा समस्या आउँदा जिल्लाको विद्युत् झनै अनियमित बनेको छ । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले नवलपुर सवस्टेशनको समस्या समाधान भएपछि पनि अत्यधिक लोड बढेर बत्ती कट्ने समस्या देखिएको बताए ।

उनले चर्को गर्मीमा विद्युतीय उपकरणको धेरै नै प्रयोग हुने हुँदा यस्तो समस्या आउने गरेको बताए । प्राविधिकका अनुसार चर्को घाम र गर्मीले ज्यादा हिट भएर इन्सुलेटरसहितका सामग्री पड्किने गरेका छन् ।