लालबन्दीस्थित पूर्व पश्चिम राजमार्गमा खाली खुट्टा हिँड्दै गरेका बोलबमयात्री । (तस्बीर : उज्यालो अभियान)
हरिवन, १४ साउन – सर्लाहीको पूर्व पश्चिम राजमार्गमा बोलबमयात्रीको चहलपहल बढ्न थालेको छ ।
राजमार्गमा खाली खुट्टा हिँड्दै विभिन्न शिवालयमा जल लिएर पुग्ने श्रद्धालुको सङ्ख्या बाक्लिन थालेको हो । प्रायः बोलबमका यात्री सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीबाट जल उठाएर पूर्व पश्चिम राजमार्गमा खाली खुट्टा हिँडेरै महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा जल चढाउनका लागि पुग्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार राजमार्गमा आइतबार बिहानबाट बोलबोमयात्रीको सङ्ख्या थप बढेको छ । भारतीय श्रद्धालु सोनवर्षा–मलङ्गवा नाका भइ सदरमुकाम मलङ्गवा निस्किएर नवलपुर–मलङ्गवा सडक हुँदै बागमतीसम्म पुग्ने गरेका छन् ।
पूर्व पश्चिम राजमार्गमा खाली खुट्टा एक्लै तथा हुँल बाँधेर हिँड्ने बोलबमयात्रीहरु कोही नेपाली त कोही भारतीय हुने गर्छन् । मोटरसाइकल, ट्याक्टरलगायत अन्य सवारीमा समेत यात्रा गर्ने बोलबमयात्री उत्तिकै सङ्ख्यामा हुने गरेका छन् ।
राजमार्गमा बोलबमयात्रीको आवागमन बढेसँगै प्रहरीले सुरक्षा सावधानी बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक मदन थापाले बोलबमयात्रीको र्याली निस्किएको र श्रद्धालुको धेरै भिड हुने राजमार्गसँग टाँसिएका मन्दिरमा ट्राफिक प्रहरी परिचालित हुने बताए ।
उनले यो बेला बोलबमयात्री सवार सवारीलाई सुरक्षितसँग सञ्चालनका लागि सम्झाइबुझाइ गरेर अघि बढाइने बताए । साउन महिनाभर बागमतीस्थित नदीमा जल उठाउन आउनेहरुको अत्यधिक भिड लाग्दा प्रहरीलाई राजमार्ग खाली गराउन हम्मेहम्मे नै पर्छ ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले यो वर्ष आइतबारसम्म बागमतीमा जल उठाउनेको ठूलो भिड नलागेको उज्यालोसँग बताए । सोमबार पनि बिहानैदेखि राजमार्गमा बोलबम यात्री देखा पर्न थालिसकेका छन् ।