logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

श्रीमती र छोरीले शरीरमा तातो पानी खन्याइदिँदा जंगलबहादुरको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास, ०३ साउन सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन् ।

स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो । प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रीता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शितल लामालाई नियन्त्रणमा लिएको छ ।

श्रीमती रीता र छोरी शितल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपीट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए । कुटपीट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना हिजो दिउँसोतिरकै भएपनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो । गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ प्रहरी प्रहरी चौकी गौरीशङ्कर र इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनापछि मृतकको शव घरमै छोपेर बसिरहेका श्रीमती रीता र छोरी शितललाई प्रहरीले घरैबाट नियन्त्रणमा लिन सफल भएको हो । विभत्स हत्याको घटनापछि सर्लाही प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंह आफै राति घटनास्थलमा पुगेका थिए ।

घटनापछि पक्राउ परेका मृतकको श्रीमती र छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा आज सर्लाही जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्थानीयका अनुसार भारतमा बस्दै आएकी छोरी शितलको आठ/नौ महिनाअघि सिरहाको जिरोमाइलमा विवाह भएको थियो । छोरीको विवाहपछि आमा रीता पनि केही समय छोरीकै घरमा बस्नुभएको थियो । उनीहरुबिच पारिवारिक विवाद उग्र बन्दा जङ्गलबहादुरको हत्या हुन पुगेको हो ।

मृतक जङ्गलबहादुरको शव आज दिउँसो प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतकका भतिजले शव बुझेर अन्त्येष्टी गरेका ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुर तामाङले जानकारी दिए ।