मलंगवा, ०३ साउन – नेपाली कांग्रेस सर्लाहीले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न माग गरेको छ ।
पार्टी कार्यालय मलंगवामा हिजो बसेको बैठकले पार्टीको केन्द्रिय नेतृत्वसँग यस्तो माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएपनि अर्थमन्त्रालय नपाउँदा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा कांग्रेस सामेल भइरहेको छैन् । बैठकले केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठवन्धन निर्माण भई सरकार गठन भएकोमा बधाई समेत ज्ञापन गरेको कांग्रेस सर्लाहीका सचिव कार्कीले बताए ।
कार्कीले जिल्ला कार्य समितिको बैठकले नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनस्थित सिमलतालमा गएको शुक्रबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता बस र यात्रुको खोजी तथा पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेको बताए ।
बैठकले मलंगवास्थित पार्टी कार्यालयको पुरानो भवन टेन्डरमार्फत बिक्री गर्न नेता बिगुप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय समेत गरेको छ । सो समितिमा पार्टीका जिल्ला सहसचिव इन्द्रबहादुर योन्जन र सुमित कुशवाहा सदस्य रहेका छन् ।