logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाढीले पाइप बगाएपछि खानेपानीको समस्या


  • उज्यालो अभियान

पानी नआएर सुकेको धारा । (तस्बीर : उज्यालो अभियान)

घारिबथान, ०२ साउन – सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या भएको छ ।

दुई साताअघि बाँके खोलामा आएको बाढीले खानेपानीको पाइप बगाइदिएपछि घारिबथानस्थित साबिकको वडा नं. ५ मा पर्ने वडा कार्यालय आसपासको क्षेत्र र वडा नं. ६ नयाँटोल गाउँमा खानेपानीको अभाव भएको हो । बाढीले पाइप बगाएपछि तीन सय बढी घरधुरीमा खानेपानीको समस्या भएको छ ।

उनीहरुले अहिले आधा घण्टा भन्दा बढी समय लगाएर छिमेकी गाउँमा पुगी खानेपानी ल्याएर खाइरहेका छन् । खोलामा अझै धमिलो पानी आइरहेकाले खानेपानी सूचारु गर्ने काम सुरु हुन सकेको छैन् ।

ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्रीले खानेपानी सूचारु गराउन नगरपालिकामा जेसिबी र पाइप मगाइएको बताए । उनले खोलामा पानी घट्नासाथ उपभोक्ता र गाउँका अगुवासँग समन्वय गरी बाढीले बगाएको ठाउँमा पाइप बिछ्याएर खानेपानी सूचारु गर्ने बताए ।

बाढीले पाइप बगाएर दुई सातादेखि धारामा पानी नआउँदा स्थानीयलाई पिउने तथा सरसफाई गर्ने पानीको समस्या परिरहेको छ । सर्लाहीको चुरेभेगका अधिकांश बस्तीमा खोलामा इन्टेक राखेर पाइपमार्फत पानी ल्याएर खाने गरिएको छ ।

वर्षातको समयमा बाढी आएर इन्टेक तथा पाइप बगाउने समस्याले चुरेभेगका स्थानीय वर्षेनि समस्यामा पर्ने गरेका छन् । हिउँदयाममा पानी सुक्ने चुरेभेगका घारिबथान, परवानिपुर, पत्थरकोट, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा वर्षायाममा बाढी आएर पाइप बगाउने समस्या देखा पर्ने गरेको छ ।