logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

१७ वर्षपछि सर्लाही ‘मन्त्रीविहीन’


  • उज्यालो अभियान

सर्लाहीबाट निर्वाचित प्रत्यक्ष सांसद रामप्रकाश चौधरी, महिन्द्र राय यादव, डा. अमरेशकुमार सिंह ।

मलंगवा, ०२ साउन – २०६५ सालदेखि प्रत्येक मन्त्रीमण्डलमा जिल्लाका सांसदलाई मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी सात जना सङ्घीय सांसद छन् ।

क्षेत्र नं. १ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी, क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव, क्षेत्र नं. ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती र क्षेत्र नं. ४ बाट स्वतन्त्र हैसियतका डा. अमरेशकुमार सिंह प्रत्यक्ष निर्वाचित सांसद छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट चन्दा चौधरी, माओवादी केन्द्रबाट मीना यादव र नेकपा एमालेबाट सरस्वती सुब्बासहित तीन जना समानुपातिक सांसद छन् । यो पटकको मन्त्रीमण्डलमा जिल्लाका सात जना सांसदमध्ये कोही पनि मन्त्रीमा नियुक्त नभएको र जिल्ला १७ वर्षपछि ‘मन्त्रीविहीन’ बन्न पुगेको विषय निकै चर्चामा छ ।

प्रायः मन्त्रीमा दोहोरिरहने र अहिलेसम्म आठपटक मन्त्री भइसकेका महिन्द्र राय यादव यो पटक भने मन्त्रीको ‘लिष्ट’ मा परेनन् । राजनीतिक वृत्तका चर्चित अनुहारका रुपमा रहेका राजेन्द्र महतोलाई २०७९ को निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट पराजित गरेपछि यादव यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एक पटक कृषि तथा पशुपन्छी विकास मन्त्री, एक पटक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र एक पटक खानेपानी मन्त्री गरी तीन पटक मन्त्री बनिसकेका छन् ।

सर्लाही क्षेत्र नं. ३ बाट निर्वाचित हरिप्रसाद उप्रेती पनि प्रचण्ड नेतृत्वको सरकारमा दुई पटक रक्षामन्त्री बने । यसरी प्रत्येक सरकारमा मन्त्री भइरहने सर्लाहीका सांसद यो पटक मन्त्री बन्ने अवसरबाट बन्चित भएका हुन् ।

नागरिक समाजका अगुवा रजनीकान्त झाले संविधान सभाको निर्वाचनपछि सबैजसो सरकारमा मन्त्री पाउने सर्लाहीले विकासका काममा भने फड्को मार्न नसकेको बताए । उनले लगातार १७ वर्षसम्म प्रत्येक सरकारमा जिल्लाका सांसद मन्त्री हुँदा पनि जिल्लाका नागरिकको जीवनस्तर उकास्ने किसिमले देखिने काम नै नभएको बताए ।

२०७० सालमा सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शम्भुलाल श्रेष्ठ उर्जा राज्यमन्त्री हुँदा नवलपुरमा ठूलो आयोजनाका रुपमा विद्युत् सवस्टेशन निर्माण गर्न सफल भएपनि त्यसबाहेक जिल्लाका जति सांसद मन्त्री भएपनि देखिने गरी कुनै काम नै नभएको नागरिक समाजका अगुवा झाको भनाई छ ।

सर्लाहीबाट राजेन्द्र महतो र महिन्द्र राय यादव धेरै पटक मन्त्री बनेका छन् । नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्ष शंकर श्रेष्ठले १७ वर्षमा जिल्लाबाट १७ जना भन्दा बढी सङ्घीय मन्त्री बनिसक्दा पनि जिल्लाका लागि उल्लेख्य काम गर्न नसकेको बताए । उनले जनजीविका सहज बनाउने काममा निर्वाचित सांसद गम्भीर नबन्दा नागरिकमा निराशा बढेको बताए ।

सङ्घ तथा प्रदेश सरकारमा सर्लाही जिल्लाको भागमा लगातारजसो मन्त्री परिरहने तर ती मन्त्रीले नागरिकलाई लाभ हुने गरी काम नगर्ने परिपाटी दुःखद् रहेको श्रेष्ठको भनाई छ ।

गोरखापत्र