logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका बजारमा चुरा, मेहन्दीको राम्रो व्यापार


  • उज्यालो अभियान

लालबन्दी बजारस्थित चुरा लाइनमा आज लागेको भिड ।

लालबन्दी, ३१ असार – सर्लाहीका हाटबजारमा चुरा, पोते, मेहन्दीसहित साउनमा प्रयोग हुने अन्य श्रृंगारका सामग्रीको व्यापार बढेको छ ।

साउनमा महिलाले यि चिजवस्तु अत्यधिक प्रयोग गर्छन् । व्रतालु महिलाले त झनै बढी प्रयोग गर्छन् । अब एक महिनासम्म बजारमा हरिया, पहेँलाचुरा, पोते, वस्त्रसहित अन्य श्रृंगारका सामग्री किनबेच राम्रो हुन्छ ।

यहाँको लालबन्दी, हरिवन, मलंगवा, बरहथवा, बयलवास, हरिपुरलगायतका बजारमा उपवासको महिना भनेर चिनिने साउनमा प्रयोग गरिने सरसामग्रीको राम्रो व्यापार भइरहेको हो । साउन सुरु हुनै लाग्दा नवलपुर–मलंगवा सडक र पूर्व–पश्चिम राजमार्गमा बोलबमका यात्री देखिन थाल्छन् ।

भोलीदेखि साउन सुरु हुँदै छ । साउनमा विभिन्न महादेव मन्दिरमा दर्शन गर्न पुग्ने गरिन्छ ।

विशेष गरी भारतीय बोलबम तिर्थयात्री सर्लाहीको बागमतीस्थित बागमती नदीमा जल लिन तथा महोत्तरीको टुटेश्वरमा रहेको टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । उनीहरुको अब राजमार्गमा बाक्लो चहलपहल सुरु हुन्छ ।

साउनमा हरियो, पहेँलो वस्त्र लगाएर बोलबमका यात्री मोटरसाइकलसहित अन्य सवारीमा आउजाउ गर्छन् । साउनभर राजमार्गमा बोलबम तिर्थयात्री र उनीहरु सवार मोटरसाइकलको चाप बढ्ने भएकाले प्रहरीले सतर्कता बढाएको छ ।

बोलबमयात्रीले मोटरसाइकलमा तीन जना भन्दा बढी चढेर तीव्र गतिमा दौडाउने, भन्सार नबुझाइ भारतीय सवारी ल्याउने, ट्याक्टर तथा अन्य सवारीमा जथाभावी यात्रु चढाउनेजस्ता कारणले वर्षेनि दुर्घटना हुने गरेको छ । त्यसलाई रोक्न चेकजाँच बढाइने सर्लाहीका ट्राफिक प्रहरी प्रमुख मदन थापाले बताए ।

साउन अवधिभर विशेष गरी बागमतीमा जल उठाउन आउनेको भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।