logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

३ दिनदेखि चर्को घाम, अत्यधिक हुन थाल्यो गर्मी


  • उज्यालो अभियान

हरिवन, ३१ असार सर्लाहीमा आज बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी छ ।

यहाँ गएको शुक्रबार दिउँसोबाट पानी पर्न रोकिएसँगै असाध्य गर्मी बढेको हो । पानी परुन्जेल डुबानले प्रभावित भएका स्थानीय अहिले वर्षा रोकिएर घाम चर्किदा गर्मीबाट आजित बनेका छन् ।

पानी पर्न रोकिएको १२ घण्टापछि देखि नै चरक्क घाम लागेर उखरमाउलो गर्मी हुँदा मानिस असिनपसिन भएर बस्न बाध्य छन् । अत्यावश्यक काम परेर बजार, कार्यालयलगायत अन्य ठाउँहरुमा जानुपर्नेलाई गर्मीले प्रभावित पार्न थालेको छ ।

पानी पर्न रोकिएपछि डुबानमा रहेका क्षेत्रमा भने ठूलो राहत मिलेको छ । अहिले लगभग सबैभेगमा डुबानको समस्या तत्कालका लागि टरेको छ । चुरेभेगका विकट ठाउँमा स्थानीय हिँडडुल गर्न पाएका छन् । खोलाबाट मोटरसाइकल, ट्याक्टर चल्न थालेका छन् ।

बाँके, फूलजो र लखन्देही खोला भएर चुरेभेगका दर्जनौँ गाउँमा जाने बस भने अब हिउँद नलागुन्जेल चल्ने अवस्था छैन् । पानी रोकिएपछि यहाँको भित्री सडकहरुमा जमेको पानी घटेको छ । चन्द्रनगरदेखि भेल्ही हुँदै मलंगवासम्म पुग्ने सडकसहित, हरिवन–कौडेनालगायतका सडकमा कटान र खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण छ ।

त्यस्तै पूर्व पश्चिम राजमार्गको विभिन्न पुल र कालोपत्रे सडकमा खाल्डाखुल्डी पर्दा दुर्घटनाको जोखिम बढेको छ ।