फाइल तस्बीर ।
मलंगवा, २९ असार – सर्लाहीमा लगातारको झरी रोकिएपछि जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।
निरन्तर पानी परिरहँदा हरेक क्षेत्र प्रभावित बनिरहेको थियो । यहाँ हिजो दिउँसोबाट भने पानी परेको छैन् । आज दिनभर अत्यधिक चर्को घाम लाग्यो । पानी पर्न रोकिएको १२ घण्टा पछि नै अत्यधिक गर्मी सूरु भएको हो ।
बारम्बार ठूलो पानी परिरहँदा जनजीवन प्रभावित बनिरहेको थियो । धेरै पानी जम्दा केही किसानले रोपाइँ गर्न पाएका थिएनन् । आकाशे वर्षाको पूर्ण भर रहेको क्षेत्रमा भने ठूलो पानीले राहत पुर्यायो ।
पानी पर्न रोकिएपछि यहाँको भित्री सडकमा जमेको पानी विस्तारै घटन थालेको छ । भारी वर्षाले पूर्व पश्चिम राजमार्गसहित अन्य भित्री पक्की सडकमा ठाउँठाउँमै पिच उप्किँदा भने दुर्घटनाको जोखिम बढेको छ ।
पानी रोकिएपछि यहाँको बाँके, कालिन्जोर, फूलजोर, लखन्देही, बागमतीलगायतको खोलामा बाढी घटेको छ । खोलामा पानी घटेपछि चुरेभेगको विकट गाउँका स्थानीयलाई एक पाखोबाट अर्को पाखाको बस्तीसम्म पुग्न केही सहज भएको छ ।
यो वर्ष ज्यादै ठूलो वर्षा हुँदा चुरेभेगमा पालिकाहरुले खनेको कच्ची ट्रयाक ठाउँठाउँमै कटान गरेर मोटरसाइकल धरी गुड्न सकेका छैनन् । बाढीले लालबन्दी ३ जब्दी र ईश्वरपुर ८ रामपुरलाई जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेको छ ।
चन्द्रनगर–भेल्ही–मलंगवा भित्री सडक ठाउँठाउँमा भत्किएको छ । भित्री गाउँहरुलाई बजार क्षेत्रसँग जोड्ने दर्जनौँ सडकमा माटो झरेर भ्वाङ परेको छ ।
पानी रोकिएपछि डुबान तथा कटानको चपेटामा परेका सक्रौल, शिवनगर, भाडसरलगायत क्षेत्रका स्थानीयलाई केही राहत मिलेको छ । पानी परेर बाहिरको काम गर्न नपाएकाहरुलाई पनि वर्षा रोकिएपछि सहज भएको छ ।