मूर्तिया, २९ असार – मनसुन सक्रिय भई पर्याप्त पानी परेसँगै सर्लाहीका विभिन्न जंगलमा च्याउ तथा साग टिप्नेको चहलपहल बाक्लिएको छ ।
यहाँको विभिन्न जंगलमा पानी परेसँगै पाइने पटे च्याउ, देउले च्याउ, निगुरो, जिब्रीको सागलगायत अन्य साग खोज्नेहरु प्रशस्त भेटिन थालेका हुन् । पानी परेको बेला प्रशस्त पाइने पटे च्याउ यहाँको बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ ।
जिल्लाको ग्रामीण भेगका केही व्यक्तिले मनसुन सक्रिय भएका बेला जंगली पटे च्याउ बेचेर दुई–चार पैसा आम्दानी पनि गर्ने गरेका छन् । ग्रामीण भेगका धेरैजसोले भने आफैले खानका लागि समेत जंगलमा च्याउ खोज्न पुग्ने गरेका छन् ।
चिकित्सकले जंगलबाट टिपेर ल्याइने कतिपय च्याउ नचिज्दा असाध्य विषालु हुने भएकाले सतर्क रहन सुझाएका छन् । विषालु च्याउ नचिनेर खाँदा मानिसहरुको ज्यान नै जाने गरेको छ ।