पानीले भरिएको नाढीमन ताल । (तस्बीर : उज्यालो अभियान)
चन्द्रनगर, २५ असार – करिव एक वर्ष गौचरणमा परिणत भएको सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा पुनः पानी भरिएको छ ।
माछा ठेकेदारले माछा मार्नका लागि ताल नै सुकाउँदा एक वर्षसम्म ताल परिसर उजाड बनेको थियो । तालमा पानी नै नहुँदा वस्तुभाउ चर्ने गरेका थिए ।
अहिले भने तालमा पानी भरिएर पहिलेकै अवस्थामा आएको हो । गाउँपालिका अध्यक्ष राजकुमार महतोले पर्याप्त आकाशे पानीसँगै सडकमा चलेको स्वार (बाटोमा बगेको पानी) समेत तालमै मिस्साइएकाले पानी भरिएको बताए । उनले अब ताललाई संरक्षण गर्दै पहिलेकै अवस्थामा फर्काउन पहल गरिने बताए ।
तालमा पानी सुक्दा गाउँपालिकाले डुङ्गा (बोट) संचालन गर्न सकेको थिएन । तालमा पुनः पानी भरिएपछि अब बोट समेत संचालन गर्ने तयारी गरिएको छ ।
जिल्लाको ऐतिहासिक यस ताल अतिक्रमणको चपेटासँगै पछिल्लो समय ताल नै सुक्दा स्थानीयले चिन्ता व्यक्त गरिरहेका थिए । जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको नाढीमन ताल संरक्षणकै अभावमा पछिल्लो समय बेवारिसे जस्तै बनेको अवस्था छ ।
लामो समयसम्म ताल परिसर गौचरणमा परिणत हुँदा यहाँ घुमफिर, वनभोजलगायतका लागि आउने मानिस शुन्य जस्तै भए ।
तालमा पुनः पानी भरिएर पहिलेकै अवस्थामा आएपछि स्थानीयले तालको उचित संरक्षणमा ध्यान दिन गाउँपालिकासँग माग गरेका छन् ।