logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको चुरेभेगमा भारी वर्षा


  • उज्यालो अभियान

पत्थरकोट, २४ असार – सर्लाहीको उत्तरी चुरेभेगमा आज दिउँसोपख ठूलो पानी परेको छ ।

बिहानभर चर्को घाम लागेर मौसम उघ्रिएकोमा दिउँसो ३ बजेतिर चुरेभेग र त्यस आसपासका क्षेत्रमा एक्कासी मौसम बदली भई एकैछिन भारी वर्षा भएको हो । नारायणखोला, पत्थरकोट, परवानिपुर, घारिबथानलगायत क्षेत्रमा चट्याङसहित आधा घण्टा भन्दा बढी समय ठूलो पानी परेको स्थानीयले बताएका छन् ।

चुरेपाखा र फेदीमा ठूलो पानी पर्दा लखन्देही र फूलजोर खोलामा बाढी आएको छ । पूर्व पश्चिम राजमार्ग क्षेत्र तथा दक्षिणी बेल्टमा भने मौसम धुम्म भएपनि पानी पर्न सकेन ।

यहाँ आज बिहानभर चर्को घाम लागेकोमा दिउँसोबाट उत्तरी चुरेभेगमा पानी परेको छ भने अन्य भेगको मौसम धुम्म भएको छ ।

केही दिनअघि देखि नै पानी पर्न थालेसँगै जिल्लाको चुरेभेगका दुर्गम बस्तीमा खोलाबाट गाडी चल्ने ठाउँमा बाढी आएपछि गाडी चल्न छाडेका छन् ।

खोला भएर हिँडडुल गर्नुपर्ने विकट गाउँका वासिन्दा औषधि उपचार र दैनिक खाद्य वस्तु किन्नका लागि बजार झर्न पाएका छैनन् ।