logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बारम्बार तटबन्ध बगाउँदा बस्ती डुबानमा, गृहमन्त्रीद्वारा निरीक्षण


  • उज्यालो अभियान

कौडेना, १९ असार – लखन्देही खोलाले बारम्बार तटबन्ध बगाउँदा सर्लाहीको कौडेना गाउँपालिका–७, शिवनगर गाउँ ७ दिनदेखि डुबानमा परेको छ ।

असार १२ गते जिल्लाको उत्तरी भेगमा भिषण वर्षा भएपछि लखन्देही खोलामा आएको बाढी दक्षिणी क्षेत्रस्थित कौडेना गाउँपालिका–७, मा तटबन्ध भत्काएर शिवनगर गाउँमा पसेको थियो । बाढी गाउँमा पस्ने बित्तिकै गाउँपालिकाले तटबन्ध कस्ने काम सुरु गरेको थियो ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव (बब्लु) ले चार पटक तटबन्ध कस्ने काम गरेपनि पटक–पटक बाढी आएर बगाइरहेको गुनासो पोखे । बाढी गाउँमा पस्दा तीन सय घरधुरी जोखिममा परेको छ । दुई दर्जन बढी घर ७ दिनदेखि निरन्तर डुबानमै रहेको गाउँपालिका अध्यक्ष यादवले उज्यालो अभियानसँग बताए ।

तटबन्ध बगाएको ठाउँमा माटो नै नरहेको र जसोतसो तटबन्ध कसेपनि बाढी आएर एकैछिनमा बगाइदिने गरेको गाउँपालिकाले जनाएको छ । वर्षा नरोकिँदा तटबन्ध कस्ने काम प्रभावित बनेको हो । डुबानमा परेका स्थानीयको दैनिकी कष्टकर बनिरहेको छ ।

बाढीले तटबन्ध बगाएर बस्ती नै जोखिममा पारेपछि केही दिनअघि रक्षामन्त्री हरिप्रसाद उप्रेतीसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

डुबान परेको क्षेत्रको हिजो मधेश प्रदेश सरकारको गृह, संचार तथा कानून मन्त्री विमला अन्सारीले समेत निरीक्षण गरेकी छन् । मन्त्री अन्सारीसहित गाउँपालिका अध्यक्ष, सिडिओ, सुरक्षा अधिकारीलगायतले पनि कटान भएको क्षेत्रको निरीक्षण गरे ।