लालबन्दी, १९ असार – राष्ट्रिय परिचयपत्र बनाउन आउँदा असाध्य हैरानी पाएको भन्दै आक्रोशित ज्येष्ठ नागरिकलगायतले हिजो बिहान लालबन्दीमा केही समय चक्काजाम गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सामाजिक सुरक्षा भत्ता बुझ्ने लालबन्दी नगरभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतका लागि असार १४ गतेदेखि वडा नं. ६ स्थित पुरानो नगरपालिका कार्यालय भवनमा कर्मचारी खटाएर विवरण दर्ताको काम गराइरहेको छ । त्यसरी विवरण दर्ता भइरहँदा एउटा मात्रै स्टेशन अर्थात् एक पटकमा एक जनाको मात्रै काम हुने गरी असाध्य ढिलो काम भइरहेको भन्दै आक्रोशित ज्येष्ठ नागरिकलगायतले लालबन्दीका सामाजिक अभियन्ता समेतको सहयोगमा हिजो बिहान केहीबेर राजमार्गमा चक्काजाम गरेर विरोध जनाएका हुन् ।
एउटा मात्रै कम्प्युटर र क्यामेराबाट काम हुँदा घण्टौँसम्म लाइनमा बस्नुपरेको र के–कस्ता कागजात लिएर आउनु पर्ने हो भनी जानकारी नहुँदा हैरानी पाएको ज्येष्ठ नागरिकको गुनासो छ । नगरपालिकाभरीको एक ठाउँमा मात्रै कर्मचारी राखिएको र टाढाका वडाबाट विवरण दर्ता गर्न आउँदा कुनै कागजात अपुग भएर पुनः फर्किएर जानुपर्दा मर्का परेको जनगुनासो छ ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्न लालबन्दीमा असार १४ गतेदेखि १७ गतेसम्मका लागि मात्रै कर्मचारी खटाइएको थियो तर विवरण दर्ता गर्नेको भीड कायमै रहेपछि अझै पनि कर्मचारी खटाउने काम भइरहेको हो । लालबन्दीका जनप्रतिनिधिले अझै केही दिन टोली राखिदिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लालबन्दीमा असार २० गते भोलीसम्म कर्मचारी बसेर परिचयपत्रको लागि विवरण सङ्कलनको काम गर्ने उज्यालो अभियानसँग बताए ।
साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र पनि चाहिने सरकारले निर्णय गरेपछि यहाँको जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको थेगिनसक्नु भिड लागेपछि जिल्ला प्रशासन कार्यालयले केही दिनका लागि भन्दै पालिकाहरुमा पालैपालो कर्मचारी पठाएर विवरण दर्ता गराउने काम गरिरहेको छ ।
लालबन्दी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले एक जना मात्रै कर्मचारी पठाइएको तर सेवाग्राही धेरै नै हुँदा कठीनाई देखिएको बताए ।