logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्यालयको कक्षाकोठाभित्र पाता बाँगिएको पंखा, गर्मीमा विद्यार्थीलाई सकस


  • उज्यालो अभियान

हरिपूर्वा, १७ असार – सर्लाहीको हरिपूर्वास्थित एक विद्यालयको कक्षाकोठामा जडान गरिएको पङ्खाका पाता केही उत्श्रृङखल विद्यार्थीले बङ्ग्याइदिँदा अन्य विद्यार्थी मारमा परेका छन् ।

चर्को गर्मीमा पङ्खा नचल्दा विद्यार्थीलाई कक्षाकोठाभित्र बसेर पढ्न असाध्य समस्या परिरहेको छ । हरिपूर्वा नगरपालिका–५ मा रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयको कुनै पनि कक्षाकोठामा जडान गरिएको पङ्खा सध्य छैन् ।

विद्यालयले २०७८ साल र गत वर्ष गरी दुई पटक जडान गरेको सबै पङ्खाका पाता बङ्गाइएको छ । विद्यालयमा पुग्ने जो कोही पनि कक्षाकोठामा जडान गरिएको पङ्खाको अवस्था देखेर आश्चर्यमा पर्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक सन्जयकुमार यादवका अनुसार विद्यालयको कक्षाकोठामा जडान गरिएको चार दर्जन बढी पङ्खाको पाता बङ्ग्याएर नचल्ने पारिएको छ । उत्श्रृङखल स्वभावका केही विद्यार्थीका कारण हैरान भएको प्रधानाध्यापक यादवको गुनासो छ । “केही खराब विद्यार्थीका कारण सारा विद्यार्थी मारमा परेका छन्,” प्रधानाध्यापक यादवले उज्यालो अभियानसँग भने “पङ्खा मात्रै होईन्, बोर्ड, स्वीच, पाइप लगायतका सरसामग्रीमा पनि व्यापक क्षति गरिएको छ ।”

विद्यार्थीले कतिबेला उत्पात मच्चाउँछन भन्ने थाहा नै नहुने प्रधानाध्यापक यादवको भनाई छ । उनले विद्यालयमा यो वर्ष प्रत्येक कक्षाकोठासहित चारैतिर सिसी क्यामेरा राखिएकाले अब यस्ता उत्श्रृङखलता रोकिने विश्वास व्यक्त गरे ।

प्रधानाध्यापक यादवका अनुसार विद्यार्थीले पङ्खाको पाता मात्रै बङ्गाइदिएकाले पाता फेर्दा चल्ने अवस्था छ । गत वर्ष नै बिगारिएको पङ्खा मर्मतमा विद्यालयले एक वर्षसम्म चासो देखाएको छैन् ।

हरिपूर्वा नगरपालिका ५ का वडाध्यक्ष विजय भुषण प्रसाद साहले विद्यालयका ती पङ्खा मर्मतका लागि पहल गर्ने बताए । “विद्यार्थीले नै सबै पङ्खा त्यस्तो पारेका हुन्,” वडाध्यक्ष साहले उज्यालोसँग भने, “मर्मतका लागि वडाबाट तत्काल पैसा त छुट्याएको छैन तर म यो विषयमा नगरपालिकामा नगरप्रमुखसँग कुरा गर्छु ।”

विद्यालय र नगरपालिकाले बेवास्ता गरी पङ्खा मर्मत नगर्दा आफ्ना बालबालिका अत्यधिक गर्मीमा असिनपसिन भएर पढ्न बाध्य भएको स्थानीय अभिभावकले गुनासो गरेका छन् ।