logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मनसून सक्रिय : क्षति रोकथाम तथा पूर्व तयारीका सम्वन्धमा छलफल


  • उज्यालो अभियान

मलंगवा, १६ असार – सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मनसूनजन्य विपद्बाट हुन सक्ने क्षति रोकथाम तथा पूर्व तयारीका सम्वन्धमा सरोकारवालाबिच छलफल गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा मनसूनजन्य विपद्बाट हुन सक्ने क्षति रोकथाम तथा पूर्व तयारी सम्वन्धमा समन्वय बैठक बसेको हो । बैठकमा जिल्लामा मनसुन प्रारम्भ भइसकेको र प्रारम्भमा नै लखन्देही खोलामा आएको बाढीबाट कौडेना गाउँपालिका वडा नं. ७ मा दुई स्थानमा तटबन्ध भत्काएर शिवनगर गाउँ डुबानमा परेको तथा चक्रघट्टा गाउँपालिका वडा नं. ३ र ४ को सुन्दरपुर क्षेत्रमा पनि बाढी पसेर धेरै घर डुबानमा पर्नुका साथै सडकहरुमा समेत क्षति पुर्याएको अवस्थालाई मध्यनजर गर्दै विकास निर्माणका योजना संचालन गर्ने कार्यालयहरुले आ–आफ्ना कार्यालयबाट निर्माण भइरहेका वा भइसकेका संरचनाहरुको संरक्षण गर्न विशेष ध्यान पुर्याउने निर्णय गरिएको छ ।

त्यस्तै तटबन्ध, पुल, सडकलगायतका संरचनाहरुमा क्षति पुग्ने अवस्था सिर्जना भई वा क्षति पुग्न गई तत्काल मर्मत सम्भार नगरेमा जनधनको क्षति हुने/बढने अवस्थामा सम्वन्धित कार्यालयहरुले अत्यावश्यक मर्मत सम्भार गर्न आवश्यक तदारुकता देखाउने, मनसूनको अवधिभर अत्यावश्यक काम परेको अवस्थामा बाहेक कार्यालय प्रमुखहरुले जिल्ला नछाड्ने र आफ्नो मोवाइल फोन हरबखत स्वीच अन गरी राख्ने निर्णय गरिएको छ ।

त्यसैगरी विकास निर्माण योजना संचालन गर्ने कार्यालयहरुले मनसूनजन्य विपद्बाट हुन सक्ने क्षति रोकथाम तथा न्यूनीकरणका लागि आपतकालिन बजेट व्यवस्था गरी विपद्का बेलामा प्रयोग गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

बैठकमा सुरक्षा अधिकारीसहित तटबन्ध तथा विपद्को क्षेत्रमा काम गर्ने विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।