प्रतिकात्मक तस्बीर ।
हरिपुर, १६ असार – सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ ।
स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव गएराति अबेर घरदेखि करिव ५०० मिटर पूर्व आफ्नै मकै खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महिलाको शव फेला परेकोबारे राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए । “घटना शङ्कास्पद रहेकाले हामी अनुसन्धानमा लागिरहेका छौँ,” एसपी सिंहले अहिले बिहान उज्यालो अभियानसँगको कुराकानीमा भने, “हरिपुरको स्थानीय प्रहरी र जिल्लाबाट समेत परिचालित टोली प्रमाण जुटाउन लागिरहेको छ ।”
परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी हिजो अपरान्ह ४ बजेपछि घरबाट खेततर्फ जानुभएको थियो । साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।