logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिलन्दी र बेलडाँडाका डेढ सय घरधुरी ३ दिनदेखि अन्धकारमा


  • उज्यालो अभियान

हरिवन, १६ असार – चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय ३ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

बिहीबार राति भएको भिषण वर्षापछि हरिवन १ र ८ को सिमना फेदीमा बिजुलीको पोल ढलेर तार लत्रिएका कारण चुरेपाखामा पर्ने बिलन्दी र बेलडाँडाका करिव १५० घरधुरी अन्धकारमा बस्नुपरेको हो । बेलडाँडाका स्थानीय अशमान थिङले तीन दिनदेखि बिजुली बत्ती नहुँदा अन्ध्यारोमा बस्नुपरेको गुनासो गरे ।

बिजुली बत्ती नहुँदा स्थानीयलाई मोवाईल चार्ज गर्न समेत समस्या परेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले बारम्बार पानी परिरहँदा बिग्रिएको लाइन सूचारु गर्न समस्या भएको जनाएको छ ।

ेवितरण केन्द्र प्रमुख त्रिभुवन यादवले हरिवन १ को विद्युत् सूचारु गर्न आज प्राविधिक खटिने बताए । उनले बिजुलीको पोल ढलेको मर्मत सम्भारका लागि ठेकेदारमार्फत काम भइरहेको जानकारी दिए ।

लालबन्दी वितरण केन्द्र अन्तर्गत नै पर्ने लालबन्दी वडा नं. १३ पत्थरकोट र वडा नं. १४ नारायणखोला क्षेत्रमा पनि बत्ती अवरुद्ध भएको छ ।

यस्तै राति हावाहुरी र चट्याङसहित पानी परेपछि जिल्लाको मलंगवा वितरण केन्द्र अन्तर्गतको गडहीया डुमरिया क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुन पुगेको छ ।