logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डुबान क्षेत्रको निरीक्षणमा सिडिओसहितको सुरक्षा टोली


  • उज्यालो अभियान

मलंगवा, १५ असार – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीसहितको टोली डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

हिजो बिहापख उत्तरी भेगमा भएको भिषण वर्षापछि लखन्देही खोलामा ठूलो बाढी आउँदा दक्षिणी भेगमा विभिन्न गाउँ डुबानमा परेका छन् । बाँध भत्काएर खोलाको पानी पस्दा कौडेना गाउँपालिकाको शिवनगर, मलंगवाको भाडसर, चक्रघट्टाको सुन्दरपुरलगायत क्षेत्रमा डुबानको समस्या देखिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

उनीसहित सुरक्षा अधिकारी र गाउँपालिका अध्यक्ष रुपेशकुमारलगायतले गएसाँझ शिवनगरको डुबान क्षेत्र निरीक्षण गरेका हुन् । प्रमुख जिल्ला अधिकारीसहितको टोली आज पनि बिहानैबाट डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किसकेको छ ।

डुबान क्षेत्रको निरीक्षणसँगै तत्काल सुरक्षाकर्मी र अन्य सम्वन्धित निकायसँग समन्वय गरी थप क्षति हुन नदिन अस्थायी बाँध बाध्ने काम गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । हिजो बिहान सर्लाहीको उत्तरी भेगमा अत्यधिक चट्याङसहित ७ घण्टासम्म भारी वर्षा भएको थियो ।

हिजै दिउँसोबाट पानी पर्न रोकिएपछि डुबानमा परेका क्षेत्रमा विस्तारै पानी घट्दै गइरहेको छ । पानीको निकास नभएर भल, बाढी बग्दा जताततै बाटो तथा पुल कटान गरेको छ । कालोपत्रे सडक कटान तथा कच्ची सडक ठाउँठाउँमा बगाउँदा आउजाउमै समस्या भएको छ ।

पूर्व पश्चिम राजमार्गको नवलपुर, सासापुर, हरिवन, नयाँरोडलगायतका लच्कामा अहिले पानी कम भइसकेकाले सहज ढंगले सवारी आउजाउ गरिरहेका छन् । भारी वर्षापछि खोलाको बगर भएर आउजाउ गर्नुपर्ने चुरेभेगमा यातायातका साधन ठप्प भएका छन् ।

हिजोको चट्याङले बागमती नगरपालिका १ मिलनचोकमा एक महिलाको मृत्यु भएको छ भने प्रत्येकजसो गाउँमा बिजुलीको मिटर, पंखा, बत्तीलगायतका विद्युतीय उपकरणमा व्यापक क्षति पुगेको हाम्रा संवाददाताले जनाएका छन् ।