logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको उत्तरी भेग जलमग्न, पूर्व पश्चिम राजमार्गमा बाढी


  • उज्यालो अभियान

लालबन्दी, १४ असार – आज बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न बनेको छ ।

बिहान २ बजेदेखि ९ बजेसम्म लगातार भएको भारी वर्षापछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदिइ सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो ।

सडकमै बाढी बग्दा आउजाउ नै प्रभावित बनेको स्थानीयले बताएका छन् । जिल्लाको पूर्व पश्चिम राजमार्गको विभिन्न स्थानको लच्कामा बाढी आउँदा सवारी ओहोरदोहोर गर्न समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनायो ।

ट्राफिक प्रहरी निरीक्षक मदन थापाले नवलपुरस्थित बागवानी केन्द्र अगाडि र हरिवनस्थित बजारमा रहेको लच्कामा ठूलो बाढी आइरहेकाले पालैपालो सवारी वारपार गराइरहेको जानकारी उज्यालो अभियानलाई जानकारी दिए ।

जिल्लाका भित्री सडकमा पनि बाढी आउँदा मोटरसाइकसहितका साना सवारी ओहोरदोहोरमा समस्या भइरहेको स्थानीयले बताएका छन् । भारी वर्षापछि जिल्लाको बागमती, बाँके, कालिन्जोर, लखन्देही, फूलजोरलगायतका खोलामा ठूलो बाढी आइरहेको छ ।

लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीका अनुसार लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट पैदल र मोटरसाइकलबाहेक अन्य सवारी आउजाउ बन्द भएको छ । जब्दीतर्फ पुल छेरको सडक बगाएपछि पुलबाट आवतजावत बन्द भएको वडाध्यक्ष चौधरीले बताए ।

आज बिहान जिल्लाको उत्तरी भेगमा सात घण्टासम्म भारी वर्षा भएपनि सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा भएको स्थानीयले बताएका छन् ।

आज मध्यान्हबाट भने उत्तरी भेगमा पनि पानी पर्न रोकिएपछि जमेको पानी विस्तारै घट्दै जान थालेको छ ।