logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राष्ट्रिय परिचय पत्र बनाउने टोली अर्को ४ पालिकामा खटियो


  • उज्यालो अभियान

तीन वर्षअघि पालिकामै कर्मचारी पठाएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिँदै । (फाइल तस्बीर)

मलंगवा, ११ असार – राष्ट्रिय परिचय पत्रका लागि विवरण लिन सर्लाहीका ४ पालिकामा कर्मचारी परिचालन भएका छन् ।

एकपछि अर्को पालिकामा पालैपालो खटिएका कर्मचारी टोली अहिले हरिपुर र हरिपूर्वा नगरपालिका तथा कौडेना र चक्रघट्टा गाउँपालिकामा पुगेका हुन् । हरिपुर र हरिपूर्वामा पुगेको टोली पर्सी १३ गतेसम्म बस्ने छ ।

त्यस्तै चक्रघट्टा र कौडेनामा परिचालित टोली भने भोली १२ गतेसम्म मात्रै खटिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । त्यसपछि उक्त टोली अर्को पालिकामा जाने सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

कर्मचारी टोली यसअघि बलरा, गोडैता, ईश्वरपुर, रामनगर, धनकौल, विष्णु, चन्द्रनगर र बसबरिया गाउँपालिकामा पुगेर विवरण लिइसकेको छ ।

साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य लागू गर्न लागिएसँगै परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन र इलाका प्रशासनमा सेवाग्राहीको अत्यधिक भिड लागेपछि पालिकाको कार्यालयमै कर्मचारी पठाएर विवरण लिने काम भइरहेको हो ।