हरिवन, ०८ असार – सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीमा वडा कार्यालयले दुई जना एकल महिलालाई घर निर्माण गरिदिएको छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय कार्यक्रमबाट वडाभित्रका दुई अतिविपन्न समेत रहेका एकल महिला सीतादेवी महतो र बिबिना वाइवालाई जस्तापाताले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
उक्त घर आज मधेश प्रदेश सरकारकी उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेलीको प्रमुख आतिथ्यतामा एकल महिला सीतादेवी र बिबिनालाई हस्तान्तरण गरिएको वडाध्यक्ष नागेन्द्र कुमार साहले जानकारी दिए । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ५ का वडाध्यक्ष साह, हरिवन नगरपालिका ६ का वडाध्यक्ष सन्तलाल घिसिङ, वडा सचिव विमला पौडेलगायतको आतिथ्यता रहेको थियो ।
वडाध्यक्ष साहका अनुसार वडा कार्यालयले ९ लाख रुपैयाँ खर्चिएर दुईवटा घर निर्माण गरी हस्तान्तरण गरेको हो । ‘जसको कोही छैन, उसका लागि स्थानीय सरकार छ’ भन्ने अनुभूति गराउन दुई एकल महिलालाई किचेन र शौचालयसहितको दुईवटा कोठा भएको घर निर्माण गरी हस्तान्तरण गरिएको वडाध्यक्ष साहले बताए ।
विकास भन्ने बित्तिकै बाटो, पुलपुलेसा मात्रै बुझेर त्यसमा धेरै लगानी गर्ने गरिएको तर जनताको आधारभूत आवश्यकताप्रति स्थानीय सरकारले ध्यान नदिइरहेको अवस्थामा आफ्नो वडाले भने जनताको समस्यालाई मध्यनजर गर्दै एकल महिलालाई घर बनाइदिएको वडाध्यक्ष साहको भनाई छ ।
वडाले सम्पूर्ण लगानी गरेर पक्की घर बनाइदिएपछि सीतादेवी र बिबिना खुसी भएका छन् ।
हरिवन ५ को वडा कार्यालयले गत वर्ष पनि एक जना अपाङ्गता भएका व्यक्तिका लागि पक्की घर निर्माण गरिदिएको थियो ।