लालबन्दी, ०७ असार – ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस सर्लाहीमा पनि मनाइएको छ ।
हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो, जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त समावेश रहेको हुन्छ । योगले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ ।
योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् । योग दिवसका अवसरमा आज बिहान लालबन्दी, हरिवन, हरिपूर्वा, मलंगवालगायतका स्थानमा प्रभातफेरि लगायतका कार्यक्रम भएका छन् । दिवसका अवसरमा हरिपूर्वा नगरपालिका आयुर्वेद शाखाको आयोजनामा बिहान प्रभातफेरि निकालिएको छ ।
जनप्रतिनिधि, समाजिक अगुवा, शिक्षक, विद्यार्थीलगायतको उपस्थितिमा प्रभातफेरि निकालिएको हो । यस्तै योग दिवसका अवसरमा आज बिहान लालबन्दीमा पनि पतन्जली योग समितिले प्रभातफेरि निकालेको छ ।
लालबन्दीस्थित पूर्व पश्चिम राजमार्गमा प्रभातफेरिसहित नियमित योग अभ्यास गरिएको पतन्जली योग समिति लालबन्दीका उपाध्क्ष उद्धवप्रसाद पौडेलले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविबन्धु थापा, लालबन्दी नगरपालिकाका सुरेन्द्र खतिवडालगायतको आतिथ्यता रहेको थियो । यस्तै कविलासीमा आयोजित ५ दिने योग शिविरको आज समापन गरिएको छ ।
कविलासी नगरपालिका आयुर्वेद शाखाले आयोजना गरेको योग शिविरको बिहान औपचारिक कार्यक्रम समापन गरिएको प्रशिक्षक शिवचन्द्र चौधरीले बताए ।
सर्लाहीमा सदरमुकाम मलंगवा, लालबन्दी, हरिवनलगायतका स्थानमा नियमित योग अभ्यास गराउने गरिएको छ ।