logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शंकरपुरमा खानेपानी आयोजना उद्घाटन, पानीको सुविधा भएपछि स्थानीय खुसी


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी, उज्यालो अभियान

शंकरपुर, ०७ असार – सर्लाहीको बागमती नगरपालिका वडा नं. ८ र १० मा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीय खुसी भएका छन् ।

शंकरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङकी निर्माण गरी खानेपानी वितरण गर्न सुरु गरेको हो । खानेपानी आयोजनाको आज मधेश प्रदेश सरकारकी उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेलीले औपचारिक रुपमा उद्घाटन गरेकी छन् ।

शंकरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विभिन्न निकायसँगको सहकार्यमा एक करोड ४० लाख ५६ हजार ७०० रुपियाँ लागतमा ओभरहेड ट्याङकी निर्माण गरी खानेपानी वितरणको काम अघि बढाएको अध्यक्ष जङ्गबहादुर श्रेष्ठले उज्यालो अभियानसँग बताए । उनका अनुसार तत्काल बागमती नगरपालिका ८ मा २०० घरधुरी र १० मा ५० घरधुरीले खानेपानी उपभोग गर्न सक्ने गरी पाइप लाइन विस्तार गरिएको छ ।

पाइप विस्तारमा भने बजेटको अभाव भएको बताइएको छ ।  दुई हजार ५०० धरधुरीमा खानेपानी वितरण गर्न सक्ने क्षमता रहेको खानेपानी आयोजनाले धमाधम पाइप विस्तारको काम चलिरहेको जनाएको छ ।

खानेपानी आयोजनाको उद्घाटनकै अवसरमा आज नै शंकरपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको दोस्रो वार्षिक साधारण सभा समेत सम्पन्न गरिएको संस्थाका सचिव वीरबहादुर खड्काले जानकारी गराए ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाका प्रमुख रामनाथ साहलगायतको आतिथ्यता रहेको थियो ।