logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका अधिकांश क्षेत्रमा वर्षा, किसानलाई केही राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०६ असार – राति सर्लाहीका अधिकांश स्थानमा वर्षा भएको छ । केहीबेर सामान्य हावाहुरी र मेघगर्जनसहित पानी परेको हो ।

पानी परेपछि किसानले राहत महशुस गरेका छन् । पानी नपर्दा विशेष गरी धानको बिउ र पसाउन थालेको चैते धान प्रभावित भइरहेको थियो । रातिको पानीले राम्रै काम गरेको किसानले बताएका छन् ।

देशमा मनसुन भित्रिएको हप्तादिन नाघिसके पनि मुसलधारे वर्षा भने हुन सकेको छैन् । अब जम्ने गरी पानी परे धाउको बिउ तयार भइसकेका किसानले रोपाइँ सुरु गर्ने तयारी गरेका छन् ।

सिँचाई सुविधा रहेको कतैकतै फाट्टफुट्ट रोपाइँ गर्न थालि पनि सकिएको छ । यहाँ केही दिनदेखि मौसम धाम्मधुम्म भइरहे पनि पानी वर्षिन सकेको थिएन । राति भने मध्यम वर्षा भएको हो ।

आज अहिले बिहान घाम लाग्ने र धुम्मिने क्रम चलिरहेको छ । मौसममा आएको बदलीपछि विगत ४÷५ दिनदेखि तुलनात्मक रुपमा जेठ अन्तिमको भन्दा गर्मी घटेको छ ।

यसैबीच, लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ । हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो । कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताए ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट, डडेलधुरा, लमजुङ, मोरङ, झापा, सर्लाही, सुनसरी, चितवन र गोरखामा वर्षा भएको छ ।

यस्तै गएराति पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ ।

अहिले काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।