logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरका स्वास्थ्य संस्थाको अनुगमन, अनुमति नै नलिएका ४ वटा संस्था सिल


  • उज्यालो अभियान

नवलपुर, ०५ असार – पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा अनुमति नै नलिइ संचालनमा रहेका ४ वटा स्वास्थ्य संस्था आज सिल गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) होमप्रसाद घिमिरेको नेतृत्वमा खटिएको अनुगमन टोलीले नवलपुरस्थित भानु अन्जली पोलिक्लिनिक, रक्षा लाइफ केयर, जयमाता दि हेल्थ केयर र भवानी हेल्थ केयर ‘सिल’ गरेको हो । यि चारवटै स्वास्थ्य संस्थाले अनुमित पत्र नै नलिएको पाइएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उज्यालो अभियानसँग बताए ।

चारमध्ये भानु अन्जली पोलिक्लिनिकले अप्रेसन थिएटर नै संचालन गरेको पाइएको छ । बिरामीको स्वास्थ्यमा हेलचेक्र्याइ गर्ने चारवटै स्वास्थ्य संस्थालाई एक हप्ताभित्र लालबन्दी नगरपालिका कार्यालयको सम्पर्कमा आउन भनिएको छ ।

अनुगमन टोलीले नवलपुरका पाँचवटा स्वास्थ्य संस्थाको अनुगमन गरेकोमध्ये जया हेल्थ क्लिनिकले अनुमती लिएपनि रेडियोलोजिष्ट बिनै भिडियो एक्सरे (अल्ट्रा साउण्ड) सञ्चालन गर्ने गरेको पाइएकाले २० हजार रुपियाँ जरिवाना तिराइएको छ । उक्त क्लिनिकलाई रेडियोलोजिष्ट राखेर मात्रै अल्ट्रासाउण्ड सेवा संचालन गर्न निर्देशन दिइएको छ ।

नवलपुर क्षेत्रमा अवैध स्वास्थ्य संस्था संचालनमा रहेका र उनीहरुले विशेष गरी गर्भवती महिलाको जथाभावी गर्भ परीक्षण गर्ने गरेको, कानून विपरीत गर्भमा रहेको छोरा/छोरा छुट्याइदिनेसम्मको काम गर्ने गरेको भन्दै चर्को गुनासो आएपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

जिल्ला प्रशासन कार्यालयले लालबन्दी नगरपालिका, स्वस्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उद्योग वाणिज्य संघलगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र नागरिक समाज, पत्रकारको उपस्थितिमा नवलपुरका स्वास्थ्य संस्थाको अनुगमन गरेको हो ।

दुई दिनअघि सदरमुकाम मलङ्गवाका केही स्वास्थ्य संस्थाको अनुगमन गर्दा पनि यस्तै किसिमको लापरवाही भेटिएको थियो ।