बयलवास, ०३ असार – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, मा आज वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता लिँदै आएका वडाभित्रका सम्पूर्ण वृद्धवृद्धालाई आज बिहान वडा कार्यालयमा भेला पारेर सम्मान गरेको हो । ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौँ, सभ्य नागरिकको परिचय दिऊँ’ भन्ने नारासहित प्रत्येक ज्येष्ठ नागरिकलाई एक केजीको एक थान हर्लिक्स प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनायो ।
वडाध्यक्ष नन्दलाल चौधरीको अध्यक्षता तथा मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उपमेयर रन्जितादेवी चौधरी, पूर्व उपमेयर एकावती देवी चौधरी, पूर्व वडाध्यक्ष अमिरिलाल चौधरी, योगनारायण चौधरीलगायतको आतिथ्यता रहेको थियो ।