logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका माछापालक किसानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र


  • उज्यालो अभियान

भक्तिपुर, ०३ असार – विद्युत महशुलमा सहुलियत दिन माग गर्दै सर्लाहीका माछापालक किसानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएका छन् ।

माछापालक किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रञ्जित सहनीको नेतृत्वमा काठमाडौँमा पुगेर माछापालक किसानको माग सम्वोधन गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ बाहिर रहेकाले उहाँको सचिवालयमा पुगेर प्रमुख स्वकिय सचिव सन्तकुमार दरैलाई ज्ञापन पत्र बुझाइएको छ ।

प्रमुख स्वकिय सचिव दरैले माछापालक किसानको माग प्रधानमन्त्री समक्ष राखी सम्वोधन गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सर्लाहीका माछापालक किसानले विद्युत् महशुलमा सहुलियत दिन माग गर्दै केही समयअघि पूर्व पश्चिम राजमार्गस्थित फूलजोर चोकमा माछा फालेर प्रदर्शन गरेका थिए ।

यसअघि कृषि मिटर अन्तर्गत बिजुलीको महशुल बुझाउँदै आएका माछापालक किसानले अहिले उद्योग अन्तर्गत महँगो विद्युत् महशुल बुझाउनुपर्दा मार परेको गुनासो गर्दै आइरहेका छन् । माछापालक किसानले विद्युत् प्राधिकरणले एक्कासी महशुल बढाएर तीन रुपियाँबाट १२ रुपियाँ पु¥याइएको गुनासो गरेका छन् ।

विद्युत् महशुलमा सहुलियत नपाए माछापालनबाट विस्थापित हुने अवस्था आएको माछापालक किसानको गुनासो छ ।

२० वटै पालिकामा व्यावसायिक रुपमा माछापालन हुने सर्लाहीमा ईश्वरपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका, कविलासी नगरपालिका र हरिपुर नगरपालिकामा धेरै मात्रामा माछापालन हुने गरेको छ ।