logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रत्येक स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने, हिजोको सूचना परिमार्जन


  • उज्यालो अभियान

तीन वर्षअघि पालिकामै कर्मचारी पठाएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिँदै । (फाइल तस्बीर)

मलंगवा, ०१ असार – जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने भएको छ ।

कार्यालयले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय रहेको मलंगवा नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको हरिवन तथा बरहथवा नगरपालिकाबाहेक अन्य १७ वटा पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि टोली खटाउने भएको हो ।

कार्यालयले यसअघि हिजो सूचना जारी गरी ईश्वरपुर नगरपालिकाको कार्यालयमा रहने स्टेशनबाट ईश्वरपुर नगरपालिकाभित्रका नागरिक र गोडैता नगरपालिकाको कार्यालयमा रहने स्टेशनबाट गोडैता नगरपालिकासहित बलरा नगरपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिकाका वासिन्दाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने उल्लेख गरेको थियो । तर आज फेरि हिजोको उक्त सूचनालाई परिमार्जन गरी जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय नरहेका १७ वटै पालिकामा पालैपालो कर्मचारी परिचालन गरेर विवरण संकलन गर्ने उल्लेख गरिएको छ ।

सोही अनुसार असार ३ गतेदेखि ६ गतेसम्म बलरा नगरपालिका, गोडैता नगरपालिका र ईश्वरपुर नगरपालिकामा विवरण संकलन टोली खटिने भएको छ । रामनगर गाउँपालिकामा असार ३ गतेदेखि ५ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने टोली बस्ने छ ।

उक्त टोली असार ७ गतेदेखि ९ गतेसम्म भने धनकौल गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बस्ने छ । त्यस्तै कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा असार १० गतेदेखि १२ गतेसम्म तथा हरिपुर नगरपालिका र हरिपूर्वा नगरपालिकामा असार १० गतेदेखि १३ गतेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारीको टोली परिचालन गर्ने छ ।

यि १२ वटा पालिकामा विवरण संकलन भएपश्चात प्रशासन कार्यालय नरहेको बाँकी पाँच पालिकामा यसैगरी मिति तोकेर कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाको कार्यालयमै गएर विवरण संकलनका लागि आवश्यक कर्मचारी र उपकरणको प्रवन्ध मिलाइसकिएको छ ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दार्ता गराउन अनिवार्य गरिएपछि केही दिनदेखि जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्ने सेवाग्राहीको थेगिनसक्नु भिड लागेको थियो ।

कार्यालयमा एकैपटक धेरै सेवाग्राही पुग्दा काम गर्न अप्ठेरो परेको र सेवाग्राहीले पनि सास्ती खेप्नु परेपछि पालिकाकै कार्यालयमा कर्मचारी खटाएर विवरण लिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अब आ–आफ्नो पालिकामा आउने टोलीलाई पर्खिएर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरेको छ ।

तीन वर्षअघि पनि यसैगरी प्रत्येक पालिकामा टोली परिचालन गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने काम गरिएको थियो । तर त्यसबेला धेरैले विवरण दर्ता गराउन बेवास्ता गरेका थिए ।