प्रतिकात्मक तस्बीर ।
पत्थरकोट, ३२ जेठ – चुरेभेगस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोट सानो नारायणडाँडामा घाँटीमा मासुको हड्डी अड्किएर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय ६९ वर्षीया टुल्कीमाया श्रेष्ठको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो । टुल्कीमायाले जेठ २५ गते साँझ लालबन्दी १३ कै पत्थरकोटस्थित छेडा गाउँबाट कुखुराको मासु किनेर लगेकी थिईन् ।
अत्यधिक मदिरा सेवन गरी मासु बोकेर घरतर्फ जाँदै गरेकी उनले बाटोमा नै काँचो मासु खाँदा घाँटीमा हड्डी अड्किएको बुझियो । उनी भोलीपल्ट जेठ २६ गते उपचारका लागि स्वास्थ्य चौकी पत्थरकोट आईन् ।
स्वास्थ्य चौकीले यहाँ उपचार सम्भव नभएकाले सुविधा सम्पन्न अस्पतालमा गएर घाँटीमा अड्किएको हड्डी निकाल्न भनी रेफर गर्यो तर श्रेष्ठ उपचारका लागि अस्पताल नगएर घरतर्फ नै फर्किईन् । घाँटीमा अड्किएर बसेको हड्डी बोेकेरै बसेकी श्रेष्ठको आज बिहान ४ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनायो ।
टुल्कीमायाको मृत्युपछि गाउँले मिलेर शव अन्त्येष्टिका लागि बिहान पत्थरकोटस्थित लखन्देही खोलामा ल्याए । त्यसक्रममा केही स्थानीयले यस घटनाबारे प्रहरीमा खबर गर्नुपर्ने बताएपछि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का सङ्कलन गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीले सो घटनाबारे अनुसन्धान भइरहेको उज्यालो अभियानसँग बतायो ।