बागमती, ३० जेठ – सडकमा बेवारिसे भएर हिँड्ने महिलालाई जवरजस्तीकरणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएको जेठ १३ गते बागमती नगरपालिका–४, जिरायतस्थित डाँडाटोलदेखि नयाँबस्तीतर्फ जाने सडक किनारमा एक महिला अचेत अवस्थामा फेला परेकी थिईन् । अन्दाजी ३५ वर्षीया ती महिलालाई तत्कालै प्रहरी पुगेर उद्धार गर्यो ।
महिलालाई प्रादेशिक अस्पताल मलंगवा लगेर उपचार गराउँदा आफूमाथि जवरजस्तीकरणी भएको बताईन् । त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले जवरजस्तीकरणीमा संलग्न बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहरी टोल बस्ने ३५ वर्षीय रमण माझीलाई पक्राउ गरेको हो ।
माझीलाई बागमती नगरपालिका–४, स्थित मगर टोल–जिरायत सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले उज्यालो अभियानलाई जनायो । माझीले अपराध स्वीकार गरेका प्रहरी दावी गर्छ ।
जिरायत क्षेत्रमा मजदुरीको काम गर्ने माझीविरुद्ध सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले उज्यालो अभियानसँग बताए ।
प्रनि गिरीका अनुसार सिसी टिभी फूटेजका आधारमा अनुसन्धान गर्दै जाँदा माझीको उक्त घटनामा संलग्नता रहेको पुष्टी भएपछि नियन्त्रणमा लिइएको हो । पीडित महिलाको अहिले एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) वीरगन्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक गिरीले सुनाए ।
मानसिक सन्तुलक ठीक नरहेको पीडित महिलाले आफ्नो घर सप्तरी बताए पनि एकिन हुन सकेको छैन् ।