मलंगवा, २९ जेठ – वर्षाको समयमा मनसुनजन्य प्रकोपबाट हुनसक्ने क्षति र त्यसको न्यूनिकरण गर्ने विषयमा सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा छलफल भएको हो । मनसुनको समयमा नागरिकको जिउधन तथा सार्वजनिक सम्पत्तिको क्षति न्यूनिकरणका लागि प्रत्येक स्थानीय तहले पूर्व तयारी (जोखिम, आंकलन, सूचना प्रवाह, उद्धार तथा राहत सामग्रीको जोहो, स्वंसेवक तयारी) मा विशेष ध्यान दिने निर्णय भएको छ ।
विद्को समयमा उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी रुपमा व्यवस्थस्थित गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र सबै स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा स्थानीय विपद् सहायता कक्ष संचालन गर्ने छलफलले निर्णय गरेको छ ।
छलफलमा विभिन्न पालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्लास्थित प्रमुखहरुको उपस्थिति रहेको थियो ।