हरिपुर, २६ जेठ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई २०८४ को चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
सो चुनावमा एमालेले एकल बहुमत ल्याउने लक्ष्य लिएकाले त्यसका लागि तयारीमा लाग्न पार्टी कार्यकर्तालाई उनले निर्देशन दिएका हुन् । हिजो दिउँसो हरिपुरमा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै महासचिव पोखरेलले नागरिकका घरघरमा पुगेर पिरमर्का सुन्ने र त्यसको समाधानका लागि ध्यान केन्द्रित गर्न भनेका हुन् ।
पोखरेलले सङ्गठन सुदृढिकरण गर्दै तल्लो तहसम्म कमिटी विस्तारमा लाग्न आग्रह गरे ।
शपथग्रहण कार्यक्रमका विशिष्ठि अतिथि एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले अहिले पनि मधेश प्रदेशसभामा पहिलो दल रहेको एमाले आगामी निर्वाचनमा सङ्घ तथा स्थानीय तहमा पनि पहिलो दल बन्ने गरी अघि बढेको बताए । उनले पनि जिल्लास्थित नेताहरुलाई कसरी बहुमत ल्याउने भनी तयारीमा लाग्न निर्देशन दिए ।
कार्यक्रमलाई पार्टीका नेता एवं रक्षामन्त्री हरिप्रसाद उपे्रती, एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, नेताहरु पुरुषोत्तम पौडेल, रेवती पन्त, गशेण प्रसाई, मनोजकुमार देवकोटा, रन्जना सरकारलगायतले सम्वोधन गरेका एमाले नेता एवं हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।
महासचिव पोखरेलले कार्यक्रममा एमाले सर्लाहीका नवनिर्वाचित अध्यक्ष राजनारायण साहसहित अन्य पदाधिकारी, सदस्य र लेखा समितिका सदस्यलाई शपथग्रहण गराएका छन् । जेठ पहिलो साता सम्पन्न एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशनले १२४ सदस्यीय जिल्ला कमिटी र छ सदस्यीय लेखा समिति सदस्य मतदानमार्फत चयन गरेको थियो ।
निर्वाचित पदाधिकारी र सदस्यलाई शपथसँगै प्रमाण पत्र वितरण भएको एमाले नेता राजु थापाले बताए ।