हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)
हरिवन, ११ जेठ – हरिवन नगरपालिकामा उपमेयर, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक वहिष्कार गरेका छन् ।
शुक्रबार दिउँसाे नगरपालिका कार्यालयकाे सभाहलमा राखिएकाे ३७ औं कार्यपालिका बैठक उपमेयर हरिमाया घलान सहित सम्पूर्ण वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले वहिष्कार गरिएकाे वडा नं. ३ का वडाध्यक्ष दिपमान लाेप्चनले जानकारी दिए । वडाध्यक्ष लाेप्चनका अनुसार चालू आर्थिक वर्षका लागि ७० लाख रुपैंयामा खसी बजार ठेक्का लागेपनि ठेक्दारसँग सम्झाैता नगरिएकाे र बैंक ग्यारेण्टी समेत नराखिएकाे विराेधमा बैठक वहिष्कार गरिएकाे हाे ।
३६ औं कार्यपालिका बैठकमै ठेकेदारसँग सम्झाैता सम्पन्न गरि बैंक ग्यारेण्टी राख्न वा नगदै जम्मा गर्न लगाउनु पर्ने र साे नभए कार्यपालिका बैठकमा सहभागी नहुने जानकारी गराईएपनि कुनै कार्य नभएकाे पाईएपछि शुक्रबारकाे बैठक वहिष्कार गरिएकाे वडा नं. २ का वडाध्यक्ष अर्जुन याेञ्जनले जानकारी दिए । ८ नम्बरका वडाध्यक्ष प्रज्वल ढुंगाना आर्थिक वर्ष सम्पन्न हुन डेढ महिना हाराहारी मात्र समय बाँकी हुँदा ठेकेदारबाट २४ लाख रुपैंया मात्र जम्मा भएकाे र सम्झाैता सहित बैक ग्यारेण्टी नहुँदा बाँकी रकम डुब्ने जाेखिम देखिएकाे बताउँछन् ।
नगरपालिका प्रमुख रमेश बुढाथाेकी (कमल) ले उपमेयर सहित वडाध्यक्षहरुले आज आयाेजना गरिएकाे कार्यपालिका बैठक छाडेर बाहिरिएकाे जानकारी दिए । हरिवनमा प्रमुख बुढाथाेकी एक्लै नेकपा माओवादी केन्द्रबाट निर्वाचित छन् । उपमेयर सहित सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् । उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुसँगकाे विवादका कारण चालू आवकाे नगर परिषद गत पुसमा मात्र सम्पन्न भएकाे थियाे ।
हरिवनमा मेयर बुढाथाेकीले कसैकाे कुरा नसुनी मनमाैजी पाराले एकलाैटी ढंगबाट चल्न खाेजेकाे आराेप उपमेयर सहित वडाध्यक्षहरुले लगाउने गरेका छन् भने मेयर बुढाथाेकीले बहुमतकाे नाममा आफूलाई काम नै गर्न नदिने गरिएकाे दु:खेसाे गर्दै आएका छन् ।