संग्रामपुर, ०६ जेठ – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा वडा कार्यालयले स्थानीयको घरघरमै खानेपानीको धारा जडान गरिदिएको छ ।
चापाकल सुकेर खानेपानीको हाहाकार मच्चिएपछि वडाले समरसियर मोटरबाट पानी वितरण गर्न सुरु गरेको हो । समरसियर मोटरबाट पाँच हजार लिटरको ‘रिर्जभ ट्याङकी’ मा पानी जम्मा गरी गाउँभर वितरण गर्न सुरु गरिएको पर्सा गाउँपालिका २ का वडाध्यक्ष राकेश रामले उज्यालो अभियानलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म सङ्ग्रामपुरस्थित राम टोल, पासवान टोल र मुस्लिम टोलमा घरघरमै धारा जडान गरेर २४ सैँ घण्टा खानेपानी वितरण भइरहेको छ । वडाभित्रका पाँच घर घरधुरीमा यसैगरी खानेपानी पु¥याउने योजना अनुसार धमाधम काम भइरहेको वडाध्यक्ष रामले बताए ।
पछिल्लो समय तराई क्षेत्रमा चापाकल सुक्ने समस्या बढ्दै गइरहेको छ । जसका कारण मधेशका गाउँमा खानेपानीको अभाव बढ्दो छ ।
आफ्नो वडामा पनि अधिकांशको घरमा रहेको चापाकल सुकेपछि समरसियल मोटरबाट घरघरमै धारा जडान गरी पानी बाँड्न सुरु गरेको वडाध्यक्ष रामले बताएका छन् । घरमै खानेपानीको धारा झरेपछि स्थानीयलाई तत्काल खानेपानीको समस्या टरेको छ ।