सुखेपोखरी, ०५ जेठ – सर्लाहीको हरिवन नगरपालिका–१० स्थित सुखेपोखरीमा आयोजित ५ दिने योग विज्ञान शिविरको आज समापन गरिएको छ ।
पतन्जली योग समितिले चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा आयोजना गरेको ५ दिने योग विज्ञान शिविरको आज बिहान समापन गरिएको हो । आजबाट ५ दिवसीय योग विज्ञान शिविर समापन भएपनि त्यहाँ भोलीबाट नियमित योग अभ्यास हुने बताइएको छ ।
सुखेपोखरीको झैँ ५ दिने योग विज्ञान शिविर जेठ १५ गतेबाट बयलवासमा हुने भएको छ । आज बिहान ईश्वरपुर नगरपालिकाको सभा हलमा आयोजित छलफलले जेठ १५ गते गणतन्त्र दिवसको शुभअवसर पारेर १९ गतेसम्म नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा ५ दिने शिविर संचालन गर्ने निर्णय गरेको पतन्जली योग समिति सर्लाहीका सल्लाहकार शिवचन्द्र चौधरीले जानकारी दिए । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, मेयर मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, पतन्जली योग समितिकी राष्ट्रिय प्रभारी अर्चना घिमिरेको उपस्थितिमा भएको छलफलले मलंगवा, लालबन्दी, अत्रौली, सुखेपोखरीपछि अब बयलवासमा योग विज्ञान शिविर संचालन गर्ने निर्णय गरेको हो ।
योग शिविर संचालनको तयारीका लागि मेयर आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति र उत्तमराज शर्माको संयोजकत्वमा २१ सदस्यीय ईश्वरपुर नगरपालिका स्तरीय पतन्जली योग समिति बनाइएको योग समितिका सदस्य प्रकाश मैनालीले जानकारी दिए ।
बयलवासको सोही कार्यक्रममा जिल्ला स्तरीय गणतन्त्र दिवस मूल समारोह समेत मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले उज्यालो अभियानसँग बताए ।