मलंगवा, ०५ जेठ – सर्लाहीमा आज पनि बिहानैदेखि असाध्य गर्मी भइरहेको छ ।
यहाँ केही दिनदेखि यसरी हपक्क भई छटपटी चल्ने गरी अत्यधिक गर्मी भइहरँदा जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । गर्मीले मानिसहरु घरमै समेत निकै असहज किसिमले बसिरहेका छन् ।
गर्मीले स–साना बालबालिका, वृद्धवृद्धालगायत सबैलाई असिनपसिन बनाइदिएको छ । हावा नचली गुम्म भई गर्मी हुँदा सर्वसाधारण छटपटिएका हुन् ।
किसान र मजदुरलाई बाहिर निस्किएर काम गर्न झनै गाह्रो परिरहेको छ । यही चरम गर्मी भइरहेका बेला जिल्लाको दक्षिणी भेगमा बिजुली अनियमित भइरहेको छ ।
मलंगवा वितरण केन्द्रले दिनभरजसो लाइन काटेर नवलपुर–मलंगवा लाइनको तार फेरिरहँदा स्थानीय गर्मीमा झनै मारमा परेका छन् । लाइन भएकै स्थानमा पनि भोल्टेजको समस्या छ ।
गर्मीले मानिससँगै चराचुरुङ्गी, वस्तुभाउ सबै प्रभावित छन् । यो बेला शरीर कमजोर भई विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले बारम्बार पानी पिउन र अन्य स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
गर्मी अत्यधिक बढ्दा लामखुट्टे तथा साँप, कीराको आतंक पनि उत्तिकै बढेको छ ।