मलंगवा, ०४ जेठ – सर्लाही जिल्लासँग जोडिएको भारतीय सीमा नाका आज राति १२ बजेबाट तीन दिनका लागि बन्द हुने भएको छ ।
भारत बिहार राज्यको सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने लोकसभा चुनावलाई लक्षित गरी सीमा नाका ‘सिल’ गर्न लागिएको हो । मित्र राष्ट्रमा हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार सीमा नाका बन्द गर्न लागिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
सीडीओ धमलाका अनुसार आज राति १२ बजेबाट बन्द हुने सीमा नाका ७ गते राति १२ बजेसम्म बन्द रहने छ । पहिलो चरणमा बन्द भएर ७ गते राति १२ बजेपछि खुल्ने सीमा नाका अर्को चरणको निर्वाचनका लागि पुनः जेठ १० गते राति १२ बजेदेखि १२ गते राति १२ बजेसम्म बन्द रहने छ ।
यो अवधिमा सर्लाहीको पर्सा गाउँपालिकादेखि बलरा नगरपालिकाको बागमती नदीसम्मको सीमा नाका बन्द हुने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालले उज्यालो अभियानसँग बताए ।
नेपाल र भारतमा निर्वाचन हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।