बरहथवा, ०३ जेठ – सर्लाहीको बरहथवा र बागमती क्षेत्रका किसानले लगाएको मकैमा दाना नलाग्नुको प्रमुख कारण परागसेचनको समयमा धेरै चिसो हुनु रहेको विज्ञहरुले प्रारम्भिक निष्कर्ष निकालेका छन् ।
व्यावसायिक रुपमा मकै खेती हुने बरहथवा र बागमतीसहित तराईका अन्य जिल्लाका किसानले लगाएको वर्णशङ्कर (हाइब्रिड) जातको मकैमा दाना नलागेको व्यापक गुनासो गरेपछि सरकारले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले चैत अन्तिममा किसानको खेतमा आएर स्थलगत अनुगमन गरी फर्किएको थियो ।
कार्यदलले अन्तिम निष्कर्ष निकाल्न बाँकी नै रहेपनि प्रारम्भिक अनुसन्धानमा परागसेचनको समयमा अत्यधिक शितलहर चल्दा आवश्यक तापक्रम नपुगेर मकैमा दाना नलागेको प्रतिवेदन तयार पारेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सर्लाहीका वरिष्ठ कृषि अधिकृत रामबलम साहले बताए । बिरुवामा हुने प्रजनन प्रक्रियाको समयलाई परागसेचन भनिन्छ ।
यो वर्ष दाना नलागेको मकैमा धानचमरा नै कम निस्किएको किसानले बताएका छन् । “मकैलाई परागसेचनको समयमा १२ देखि ३२ डिग्री सेल्सीयस तापक्रम आवश्यक पर्छ तर त्यो समयमा शितलहर चलेकाले आवश्यक तापक्रम पुग्नै सकेन,” वरिष्ठ कृषि अधिकृत साहले भने, “तापक्रम नपुगेकै कारण मकैमा थोते थोगा लागेको प्रारम्भिक प्रतिवेदनले देखाउँछ तर अन्तिम निष्कर्ष आउन बाँकी छ ।”
उनले स्थानीय बिक्रेताले बकैको बिउमा मिसावट गरेको हो की ? भन्ने कोणबाट पनि अनुसन्धान तथा परीक्षण भइरहेको बताए । मकैको जातिय शुद्धताका लागि डिएनए परीक्षण समेत भइरहेको हो ।
सर्लाही जिल्लाभर १२ हजार हेक्टर जग्गामा हाइब्रिड मकै खेती हुने गरेकोमा बागमती नगरपालिकाभित्र मात्रै पाँच हजार ३०० हेक्टर र बरहथवा नगरपालिकाभित्र चार हजार ७०० हेक्टर जग्गामा हाइब्रिड मकै खेती हुने गरेको छ ।
बागमती नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक हिमाल शाहीले आफूहरुले विवरण सङ्कलन गर्दा ४४० जना किसानको २१६ हेक्टर खेतमा लगाएको मकैमा दाना नलागेको पाइएको बताए ।
उनले थोते घोगा लागेको मकैमा ६० प्रतिसतसम्म उत्पादन कम भएको बताए ।