मलंगवा, ०३ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न हिजो भएको मतदानको रातिबाट मतगणना जारी छ ।
मलंगवास्थित कुुसुम पार्टी प्यालेसमा गएसाँझ अबेर मतदान सकेर गएरातिबाटै मतगणना सुरु गरिएको हो । अहिले बिहान चिया तथा खाजा खानका लागि मतगणना रोकिएको छ ।
बिहानसम्म २०० मत गनिसक्दा अध्यक्षमा राजनारायण साहले १०७, गणेशप्रसाद प्रसाईले ८० र जयप्रकाश यादवले ७ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारीको पनि मतगणना जारी छ ।
अधिवेशनका लागि ६१० जना प्रतिनिधिमध्ये ५७४ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । पदाधिकारको मतगणना आज मध्यान्हसम्म सक्ने लक्ष्य छ ।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र खुल्ला तथा महिला गरी दुई उप–सचिवसहित पाँच जना पदाधिकारी र १२१ जना सदस्य निर्वाचित हुुने छन् । १२१ जना सदस्यमध्ये केही यसअघि नै सर्वसम्मत रुपमा चयन भइसकेका छन् ।